1/05/2014

घटे खर्चालू पर्यटक


मुख्य सिजनमै आवागमनमा गिरावट
 नेपालमा आएर धेरै रकम खर्च गर्ने मुख्य देशका पर्यटकहरु मुख्य सिजनमै घटेका छन् । अध्यागमन विभागले दिएको तथ्याङक अनुसार नेपाल आएर बढी खर्च गर्ने वा डलरमा आम्दानी हुने धेरै देशका पर्यटक घटेका छन् । संयुक्त राज्य अमेरिका, पाकिस्तान, चीन, दक्षिण कोरिया, चेक रिपब्लिक, डेनमार्क, जर्मनी, फ्रान्स, ईजरायल, पोल्याण्ड, युके, अष्टे«लिया, न्युजिल्याण्ड, क्यानडालगायत अधिकांस देशका पर्यटक आवागमनमा डिसेम्बरमा गिरावट आएको हो । समग्रमा समेत यो महिना नेपाल आउने पर्यटकको सख्यामा करिब पाँच प्रतिशत गिरावट आएको छ । नेपालमा रजनीतिक अस्थिरता तथा संविधान सभाको निर्वाचन आसपासमा भएको पर्यटन विरोधी गतिविधीको कारण नेपाल आउने पर्यटक घटेको बताईएको छ । नेपालमा डलरमा आम्दानी हुने बाहेक भारतका पर्यटक समेत झिनो अंकले घटेका छन् ।  
नेपाल पर्यटन बोर्डले गत महिनादेखि नेपालमा हवाई मार्गबाट आउने पर्यटकको तथ्याङक सार्वजनिक गर्न सुरु गरेको  छ । बोर्डले दिएको जानकारी अनुसार गत महिना(डिसेम्बरमा) हवाई मार्गबाट नेपाल आउने पर्यटकको संख्यामा करिब ५ प्रतिशतले गिरावट आएको हो । नोभेम्बर तथा डिसेम्बर महिनालाई पर्यटन व्यवसायीहरुले भने पर्यटकीय सिजन नै मानेका छन् । बोर्डले दिएको जानकारी अनुसार गत वर्षको डिसेम्बर महिनाको तुलनामा यो वर्ष हवाई मार्गबाट नेपाल आउने पर्यटकको संख्यामा ४ दशमलव ९ प्रतिशत(२ हजार १ सय ७३)ले कमि आएको हो । यो वर्षको डिसेम्बरमा नेपालमा ४२ हजार ६ सय १ विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको यो महिनामा ४४ हजार ७ सय ७४ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
   यो महिनामा सार्क क्षेत्रबाट मात्रै १३ हजार ५ सय २१ पर्यटक हवाईमार्गबाट नेपाल भ्रमणमा आएका छन् । यो गत वर्षको तुलनामा १ दशमलव ६ प्रतिशतले बढी हो । गत वर्ष यो समयमा सार्कमा आवद्ध देशहरुबाट १३ हजार ३ सय २ जना विदेशी नेपाल घुम्न आएका थिए ।
सार्कबाट नेपाल आउने पर्यटकमा सबैभन्दा धेरै बङ्गलादेशबाट ४० दशमलव ३ र श्रीलङकाबाट ४९ दशमलव ४ प्रतिशत बढेका छन् ।
उता डिसेम्बरमा युरोपियन मुलुकबाट नेपाल आउने पर्यटकको संख्या ८ दशमलव ७ प्रतिशतले घटेको छ । यो वर्ष ७ हजार ७ सय ६२ पर्यटक युरोपियन देशहरुबाट नेपाल आएका छन् । युरोपियन देशबाट नेपाल आउनेमा बेलायत, इजरायल, डेनमार्कबाट नेपाल आउने पर्यटक घटेका छन् भने बेल्जियम, नर्बे, स्वीडेनबाट आउने पर्यटक बढेका छन् । सर्कमै रहेको बंगलादेशबाट आउने पर्यटकको संख्या ४०.३ प्रतिशतले बढेको छ भने पाकिस्तानबाट आउने पर्यटकको संख्या ६७ प्रतिशतले घटेको छ । यो वर्ष सार्क क्षेत्रको भारतबाट हवाई मार्गको प्रयोग गरेर नेपाल आउने पर्यटक १ प्रतिशतले घटेका छन् । यो अवधीमा भारतबाट ११ हजार २ सय ४७ पर्यटक नेपाल आए । गत वर्ष ११ हजार ३ सय ६२ पर्यटक भारतबाट नेपाल आएका थिए । सार्कमा सबैभन्दा धेरै नेपाल आयने पर्यटक समेत भारत नै रहेको छ । बङ्गलादेशबाट १ हजार ८ सय ९७ पर्यटक मात्र नेपाल आएका छन् । यो भारतपछि सबैभन्दा धेरै हो । उता एसिया क्षेत्रमा रहेको चीनबाट सबैभन्दा धेरै नेपाली पर्यटक नेपाल भित्रिएका छन् । चीनबाट ४ हजार ५ सय २८ पर्यटक नेपाल आएका हुन् । यो गत वर्षको भन्दा ९ दशमलव ३ प्रतिशत कम हो तर संख्याको आधारमा अन्य देशको तुलनामा धेरै हो । चीनपछि एसिया क्षेत्रमा सबैभन्दा धेरै जापानबाट नेपालमा पर्यटक आएका छन् । यो देशबाट डिसेम्बरमा २ हजार ८ सय ७२ पर्यटक नेपाल आएका हुन् । गत वर्ष २ हजार ८ सय ७६ पर्यटक जापानबाट नेपाल आएका थिए ।
संयुक्त राज्य अमेरिकाबाट नेपाल आउने पर्यटकको संख्यामा समेत यो वर्ष ५ दशमलव ७ प्रतिशतको गिरावट आएको छ । गत वर्ष २ हजार ९ सय ७ अमेरिकी पर्यटक डिसेम्बरमा नेपाल आएकोमा यो वर्ष २ हजार ७ सय ४१ पर्यटक नेपाल आएका छन् ।        

0 comments:

Post a Comment