5/05/2014

आउला त मेलम्चीको पानी ?

शिवहरि खतिवडा
काठमाडौं, वैशाख २१ । २०५१ सालमा देशमा मध्यावधि निर्वाचन हुँदै थियो, तत्कालीन पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्ची खोलाको पानीले काठमाडौंको सडक पखालिदिने घोषणा गरेपछि धेरैले जिब्रो टोके । उक्त समयभन्दा करिब १० वर्षआगडि नै सम्भाव्यता अध्ययन भएर पनि थन्किएको यो विषयलाई भट्टराईले पुनर्उठान गरेपछि भने चर्चामा आयो । 
२०५० को दशकमा जनताले पत्याउन नसकेको यो विकासे सम्भावनामा विभिन्न दाताले लगानीको हात अगाडि बढाएपछि खानेपानीको तीव्र अभाव झेलिरहेका काठमाडौंबासीले मेलम्चीको सपना देख्न थाले । एक दिन–दुई दिन गर्दै काठमाडौंबासीले मेलम्ची खोलाको पानीको आस गरेको आज २१ वर्ष नाघिसकेको छ । यो अवधिमा न त मेलम्चीको पानी आयो न त जनतालाई आस देखाउनै छोडियो । पहिलो लक्ष्यअनुसार २०६४ सालमै राजधानीमा मेलम्ची खोलाको पानी आउनुपर्ने थियो । 
आयोजना बनाउँदै आएको निकायले जनतालाई एउटा आस देखाउँछ र फेरि काम नभएपछि लाचार भएर अर्को मिति तोक्छ । अहिले पनि आयोजनाको टाउके मन्त्रालयअन्तर्गत पर्ने सहरी विकास मन्त्रालयले २०७३ साल वैशाख १ गते मेलम्ची खोलाको पानी काठमाडौंमा आइपुग्ने दाबी गरेको छ । तर, पछिल्लो समय शनिबार मन्त्रालयका सचिव किशोर थापासँग कुरा गर्दा सोही समयमा पानी आउने शतप्रतिशत सम्भावना रहेको ग्यारेन्टी गर्न सकेनन् । ‘हामीले एउटा समय तोकेर काम गर्ने हो । समय तोकेर काम गरिएन भने अलमलमा पर्छौं । अहिले हामीले जुन मिति तोकेका छौं त्यो मितिमा पानी आउने सम्भावना छ । आएन भने अर्को वर्ष जनतालाई फेरि अपडेट गराउने छौं,’ थापाको भनाइ छ । थापाकै भनाइको सार बुझ्ने हो भने आयोजना फेरि लम्बिने सम्भावना छ । 
आयोजनालाई प्रभाव पार्ने काम अहिले पनि भइरहेका छन् । क्रसर व्यवसायीहरूले १६ गतेदेखि रोडा, ढुंगा, गिट्टी तथा बालुवा उपलब्ध गराउन बन्द गराएका छन् । आयोजनाले निर्माण सामग्री नपाएपछि सरकारलाई चेतावनीपत्रसमेत पठाइसकेको छ । आयोजनाको समय लम्ब्याउन यो पनि एउटा गतिलो आधार बन्न सक्छ । 
 
‘लक्ष्य अनुसार काम भएको छैन’ 
किशोर थापा 
             सचिव 
सहरी विकास मन्त्रालय
 
२०७३ वैशाख १ गते नै काठमाडौंमा मेलम्चीको पानी आउँछ ? 
आउँछ, अहिलेसम्मको प्रगति र आयोजनाहरूको निर्माण अवस्था हेर्दा हामीले निर्धारण गरेको मितिमै पानी आउने अवस्था कायमै छ । तैपनि एक वर्षपछिको अवस्था हेरेपछि के हुन्छ भनेर फेरि जनतालाई जानकारी गराउने छौं । हामीले प्राविधिक मूल्यांकनको आधारमा भन्ने हो । निर्माण व्यवसायीलाई समय अगाडि नै काम सम्पन्न गर्न बोनस दिने व्यवस्था गरेका छौं त्यो निकै आकर्षक छ, यसले गर्दा पनि व्यवसायीलाई कामका लागि हौसला बढ्छ । 
निकै आत्मविश्वासका साथ पानी आउँछ भनिरहनुभएको छ । यदि निर्धारित समयभित्र पानी ल्याउन सकिएन भने  जनतालाई फेरि ढाँटेको हुँदैन ? 
हेर्नोस्, हामीले एउटा लक्ष्य बनाउने हो र लक्ष्यअनुसार काम गर्दै जाने हो । लक्ष्य राखेन भने कुनै पनि काम अगाडि बढ्न सक्दैन । हामी कुइरोको कागजस्तो हुन्छौं । लक्ष्य राखेपछि सोहीअनुसार काम गर्न दबाब पर्छ । बीचमा केही समस्या देखियो भने हामी फेरि ‘रिसेटलिङ’ गर्छौं । तर, पानी आउने सम्भावना छ । अहिलेसम्मको कामको आधारमा आउन सक्छ भनेर दाबी गर्न सक्छौं । हामीले कामको लागि जुन चार्ट बनाएका छौं सोही अनुसार अगाडि बढेका छौं । 
व्यवसायीहरू त लक्ष्यअनुसार सुरुङ नै खन्न सकेको छैन भनिरहेका छन् त ? 
अहिले आयोजनाको काम तीव्र रूपमा अगाडि बढिरहेको छ । सुरुङको काम सुरु भइसकेको छ । पूर्ण रूपमा काम अगाडि बढाउन दिनको ४० मिटरको दरले सुरुङ खन्ने जुन लक्ष्य राखेका थियौं त्यो लक्ष्यअनुसार खन्न सकिएको छैन । तर अहिले क्षमता बढ्दै छ । व्यवसायीहरूले उपकरणहरू ल्याउनमा ढिलाइ भएको कारणले केही ढिलाइ र कम काम भएको हो । ४ वटा लोकेसनबाट काम सुरु भइरहेको छ । कुनैमा लक्ष्यअनुसार पूर्णरूपमा काम भएको छ कुनैमा भएको छैन । तर अगाडि जुन महिनाको अन्त्यसम्ममा सबै काम सम्पन्न हुन्छ । 
उप–आयोजनाहरूको निर्माणचाहिँ के भइरहेको छ ? 
हामीले मेलम्ची आयोजनाको उप–आयोजनाअन्तर्गत विभिन्न परियोजनाको पनि ठेक्काको काम सम्पन्न गरिरहेका छौं । सहरभरि नयाँ पाइप बिच्छ्याउनका लागि ठेक्का सम्झौता गरेका छौं । प्रशोधन केन्द्रको काम पनि अगाडि बढिरहेको छ । 
मेलम्ची आयोजनाको नाममा काठमाडौंमा बनेका सडक फेरि भत्काउनुपर्ने भयो होइन ? 
होइन, हामीले पहिला पुराना सडकमा काम गर्ने भनेर निर्माण व्यवसायीलाई पनि भनेका छौं । बनाइसकेको चिल्लो भएका सडकहरूमा अन्त्यमा मात्र भत्काउने योजना बनाएका छौं । यसमा पनि सकेसम्म सडकपेटीबाट मात्रै पाइप गाड्न सम्भव भए त्यसलाई प्राथमिकतामा राख्छौं । 
क्रसर व्यवसायीले त निर्माण सामग्री दिन सक्दैनौँ भन्दै आयोजनालाई पत्र पठाएका छन् नि ? 
यसले आयोजना प्रभावित हुन्छ । धेरै नै त प्रभाव परेको छैन तर अलि–अलि  प्रभावित भएको छ । हामीलाई आयोजनाले चेतावनी (अलर्ट) गराइरहेका छन् । अवरोध हटाउने काम भइरहेको छ । अहिले केही स्टक भएकाले पनि काम रोकिएको छैन । खासगरी सुरुङको काम भइरहेकाले बालुवा गिटीको काम पनि धेरै छ । हामीले समस्या समाधानका लागि पहल गर्न अरू निकायलाई अनुरोध गरिसकेका छौं । 
आयोजना बनाउन समस्या भएपछि त निर्माण पक्षलाई क्षतिपूर्ति दिनुपर्ने होला होइन ? 
सम्झौताअनुसार क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ । निर्माण व्यवसायीले ‘अलर्ट’ गराइरहेका छन् तर क्षतिपूर्तिका लागि दाबी गरेका छैनन् । अहिले त  केही स्टक भएर पनि समस्या भएको छैन तर महिनौंसम्म व्यवसायीले निर्माण सामग्री पाएनन् भने क्षतिपूर्ति तिर्नुपर्ने हुन्छ ।
उता दैनिक ४० मिटरको दरले सुरुङ खन्नुपर्नेमा उक्त लक्ष्य अनुसार काम भएको छैन । ‘निर्माण उपकरण आउन ढिलो भएको कारण लक्ष्यअनुसार खन्न नसकिएको हो । अब काम अगाडि बढ्छ,’ थापाले भने (हेरौं अन्तरवार्ता) । चैत्रमा जम्मा ०.०६ किलोमिटर सुरुङ खनिएको थियो । अहिले दाताको सहयोग र पर्याप्त बजेट भए पनि मेलम्ची आयोजना काठमाडौंबासीलाई आशै आशको खानी मात्र भएको छ । मुख्य लगानीकर्ता रहेको एसियाली विकास बैंकले जसरी पनि मेलम्ची आयोजना सम्पन्न गरेरै छोड्ने बताएपछि आयोजनाको केही सम्भावना भने बढेको छ । तर काम भने तीव्र गतिमा हुन सकेको छैन ।  एसियाली विकास बैंकले आयोजनाका लागि २ अर्ब ४२ करोड ५० लाख थप ऋण लगानीका लागि हालै अर्थमन्त्रालयसँग सम्झौतासमेत गरिसकेको छ ।
मेलम्चीको पानी २०७३ वैशाख १ गते काठमाडौं उपत्यकाबासीको घरघरमा पु¥याउने सरकारको लक्ष्य छ तर विभिन्न अवरोधको कारण आयोजना समयमा सम्पन्न हुनेमा भने शंका गर्ने ठाँउहरू पर्याप्त  छन् । सहरी विकासमन्त्री डा. नारायण खड्का पनि मेलम्चीको पानी २०७३ वैशाख १ गते काठमाडौंमा आउने दाबी गर्छन । 
मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको ठेक्का साउनमा सरकारले इटालीको को अपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी) लाइ दिएको थियो । सिएसीसँग २०७२ भित्र आयोजना सम्पन्न गरी २०७३ वैशाखमा मेलम्चीको पानी वितरण गर्ने सम्झौता भएको सचिव थापाले जानकारी दिए । यसअघि नै करिब एक वर्ष अगाडि  काठमाडौंमा खानेपानी वितरण गर्न सरकारले २००९ फेब्रुअरीमा चिनियाँ कम्पनी चाइना रेलवे कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । यो कम्पनीले २०१२ को सेप्टेम्बरबाट काम अगाडि बढाउन नसकेर सम्झौता रद्द भएपछि नयाँ सम्झौताले थप ५ अर्ब लागत बढाएको छ । हाल आयोजनाको लागत करिव ४० अर्ब पुगेको छ । सरकारले मेलम्ची, यांग्री र लार्के खोलाबाट दैनिक १७÷१७ करोड लिटर पानी काठमाडौं ल्याउने लक्ष्य राखेको छ । 
यस्तो छ प्रगति 
आयोजनाअन्तर्गत २७ किलोमिटर सुरुङ तथा मुहान निर्माणका लागि सरकारले सिएमसीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार निर्धातिर मितिमै काम सम्पन्न गर्न दिनमा ४० मिटरका दरले सुरुङ बनाउनुपर्छ । वैशाख १ गतेसम्मको प्रगतिलाई आधारमा मान्ने हो भने हालसम्म जम्मा ६ दशमलव ५७ किलोमिटर सुरुङ निर्माण भएको छ । अझै २१ दशमलव १ किालेमिटर सुरुङ बनाउने काम बाँकी छ । चैत्रमा जम्मा ० दशमलव ०६ किलोमिटर मात्र सुरुङ निर्माण भयो । सुरुङबाहेक अन्य निर्माणको काम पनि सुरु भएको छ । उपत्यकामा खानेपानीको पाइप कालिका कन्ट्रक्सनले बिच्छ्याइरहेको छ भने सुन्दरीजलमा प्रशोधन केन्द्र पनि बनिरहेको छ । सुरुङका लागि मात्र विभिन्न ४ स्थानबाट काम भइरहेको छ । 
यस्तो थियो सुरुआत 
तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता भट्टराईले मेलम्चीको पानीको अवधारण ल्याउनु अगाडि नै करिब ३० वर्ष अगाडि बेलायती अन्तर्राष्ट्रिय संस्था बिन्नी एण्ड पाटनर्सले मेलम्चीको सम्भाव्यता अध्ययन गरेको थियो । जसले प्रतिवेदन दिए पनि तत्कालीन पञ्चायती सरकारले केही गर्न सकेन । तर, सन् २००० मा सरकारले विकास समिति नै गठन गरेर मेलम्चीको काम सुरु गरेको हो । सन् १९८८ देखि नै मेलम्ची चर्चामा रहेको थियो । २००१ मा  एसियाली विकास बैंकको अगुवाइमा लगानी गर्ने निकाय तयार भएपछि भने मेलम्ची आयोजना अगाडि बढेको हो । तर करिब १५ वर्षमा झन्डै २० प्रतिशत मात्र काम अगाडि बढेको छ । 
भाका सरेको स¥यै 
 जनतालाई बाडिएको सपना अनुसार पहिलोपटक ०६४÷६५ मा मेलम्चीको पानी काठमाडौं आउनुपर्ने थियो । तर यसलाई पटक–पटक संशोधन गरेर २०७३ साल पु¥याइएको छ । प्रवेश मार्ग, क्षतिपूर्ति, मुआब्जा वितरणलगायतका कारण नै आयोजना लम्बिएको थियो भने रकमसमेत सोही अनुसार बढ्दै गएको छ । सरकारले करिब १० अर्ब रुपैयाँ मुआब्जा र क्षतिपूर्तिको लागि खर्च गरिसकेको छ ।  
 

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment