2/18/2012

उफ नेपाल !

एका विहानै प्रमुख पेजमा समाचार आयो एक नेताको घरमा एक दिन ग्यास नभएर खाना पाकेन । अर्को समाचार पनि आयो एक नेताको श्रीमतीले खाना पकाउने ग्यास प्रधानमन्त्रीसँग माग्न लगाईन रे । मलाई पनि प्रधानमन्त्री कार्यलयमा नै ग्यास माग्न जाउ कि जस्तो लाग्यो तर हाम्रो पहुँच पो कहाँ छ र ग्यास माग्नलाई । अनि गए पनि हामीलाई कसले दिने ग्यास न हामी उनको नजिकको मान्छे हुनु न त उनलाई प्रधानमन्त्री बनाउन संसदमा बेतन्डा नै मच्चाएको मान्छे हुनु ।
यो देशमा एक नेताको घरमा खाना पाकेन भने नेपालको प्रमुख पत्रिकाको मुख्य पेजमा समाचार बनेर आउँछ । उनीहरुलाई जहाँबाट पनि ग्यासरासन पानी सबै सुविधा पुग्छ तर हामी जनताको घरमा महिनौंसम्म खाना नपाए पनि त्यो कसैको चासोको विषयमा बन्दैन न त समाचार नै । म प्रत्येक दिनजसो ग्यास डिलरकोमा जान्छु । खाना पकाउने ग्यास आयो कि भनेर सोध्छु तर जवाफ उही आउँछ अझै केही दिन लाग्छ होला । साथीकोमा खाना खान जान्थे उसकोमा पनि ग्यास सकियो रे अब त उपाय नै अरु भएन । फेरी यही काठमाडौंको गल्तीमा फर्किन्छु अनि घरमा रहेको रित्तो सिलिण्डर हेर्दै खाना खान होटलतिर लाग्छु । २० दिन भएछ मेरो घरमा खाना पकाउने ग्यास सकिएको । स्थानीयबासीले जहाँ पायो त्यहीबाट ग्यास नियन्त्रणमा लिन थाले रे भन्ने समाचार पनि आउँछमनमनै लाग्छ मेरो एरियामा पनि ग्यास नियन्त्रणमा लिने कोही भए पनि हुने ।
नेपालमा लोकतन्त्र आयो भने राजा हटाईयो भने सबै जनतालाई सुविधा हुन्छ अभाव हराउँछ भनेर हामी नयाँ नेपालको परिकल्पनामा २०६२÷६३ सालको आन्दोलनमा होमिएका थियौं । म ६ घण्टाको बाटो हिडेर चुनावमा भोट हाल्न पुगेको पनि थिए । मलाइ अहिले पछुतो लाग्छ । यदि नेपाल अहिले यो अवस्थामा पुग्छ भन्ने थाहा भएको थियो भने म ६ घण्टा बरबाद गरेर भोट हाल्न जाने पनि थिईन । भोट हाल्ने पनि थिईन ।
नेपालीलाइ सपना बाडेर हिडेका नेताहरुले अहिले आफ्नो चरित्र प्रस्तुत गरेका छन् । हिउँदको समयसंगै काठमाडौंमा खाना पकाउने पानी हुँदैनग्यास छैनबत्ति छैन यही बेलामा महंगी बढ्छ रोजगारीको ठेगान हुदैन अनि हाम्रा नेताहरुको प्रत्येक दिन भाषण आउँछ राहत कार्यक्रम आउँछ नेपाललाई सिङ्गापुर बनाउने बन्ने गफलाइ मुलुकमा मिडियाले स्थान दिएर दोहोर् याई दोहोर् याई समाचार बनाउँछन् । यहाँ खाना खान नपाएर नेपाली छटपटाउन लागिसके उता नेताहरु भने रेल मार्ग बनाउनेहवाई मार्ग बनाउने भन्दै योजनाको पोको फुकाउँछन् । आलु देखाउँछन अनि पिडालु बेच्न थाल्छन् अहिलेका नेताहरु । हामी जनताले यो बुझेका छौं तर किन बौल्देनौं बोल्नु पनि कसरी पहिला पो एक राजा थिए । अरु सबै जनता भएका थिए । सबैले नराम्रो कामलाई खुलेर विरोध गर्थे । अहिले त मुलुकमा सबै नेता राजा भएका छन् । सबैलाइ जनताले मान्नु पर्ने भएको छ । खाना नखाएर भने पनि उनीहरुको भाषणा सुनिदिनु पर्ने भएको छ । घरमा रहेको रित्तो ग्रागी हेर्दै सिङ्गापुरको सपनामा रमाउनु पर्ने भएको छ । उनीहरुको भाषणाकोबीच बीचमा थपडी पनि बजाउनुपर्ने भएको छ । हामीलाइ ग्यास लेउ भन्दै सडकमा गए उनीहरुले भ्यानमा कोचेर हनुमान ढोका पुर् याउनछन् तर उनीहरुलाई मन्त्री चाहियो भन्दै सडकमा आए हामीले पसल सटर बन्द गरेर रमिते भएर बस्नु परेको छ ।
यही बेलामा म एका छेउमा बसेर सोचिरहेको हुन्छु थुईक्क म ! धेरै साथीहरु विदेशिएका बेलामा मलाई पनि रोजगारको लागि विदेश जान प्रस्ताव आएको थियो तर म भने नेपालमा नै केही गर्नुपर्छ भन्दै बसेको थिए अहिले पछुतो लागेको छ । नेपाली राजनीति र सासन प्रणालीमा अल्झेको विकास देख्दा । जागिर गर्न गयो बत्ति भएन उत्पादन भएन भनेर तलब घटाउन तिर लाग्छन मालिक । डेरामा आयो अब त भाडा बढ्यो भन्दै थप पैसा लिन तिर लाग्छन घरधनी । देशमा अत्याचार अभाव तथा दुराचार जे भएपछि कसैलाई मतलव छैन । सबैलाई मतलव छ त केवल कुर्चीको । मुलुकमा संकटकालमा कर्फयू लागेको बेलामा समेत भोग्न नपरेको दुख अहिले भोग्न परेको छ । यसमा कसैको चासो छैन । जनता ग्यास नभएर खाना नपाए पनि मलतव छैन । प्रेट्रोल नभएर गुड्न नपाएपनि मतलव छैन । भाषण गर्नेले भाषणा गरेका नै छन् । बोल्नेले बोलेका नै छन् । कोही मधेस अब टुकि्रन्छ भन्छन् कोही अब नेपाल टुकि्रन्छन भन्छन जल्ले जे भने पनि हुन्छ यहाँ कसैलाई कसैले बोलेको मतलव हुँदैन । सबैलाई राज्य चाहिएको छ रे । तिनका बाउका अंश दाजुभाइले बाडेर लिएको जस्तो उनीहरुलाइ नेपाल पनि बाँडेर लिनु पर् यो रे । त्यसैले मैले भोक भोकै भएपनि एउटा माग उठाउने निर्णय गरेको छु । हामी चुच्चा नाक भएकाहरुलाइ पनि एउटा राज्य देउ नत्र हामीले पनि जानेका छौं । हामी पनि अब वेद र सराध्ये गर्न बन्द गरिदिन्छौं । सडकमा आउँछौं र भन्छौं चुच्चासालिङ राज्य घोषणा गर । उफ नेपाल  !

0 comments:

Post a Comment