1/24/2015

बैंकबाट लुटेको करोड रुपैयाँ माटोमा


http://ehimalayatimes.com/new/wp-content/uploads/2015/01/bank-haru.jpg
–  ३ बैंकलाई ठग्दै २ करोड हिनामिना
–    मेगाकै उच्च कर्मचारी संलग्न
–    माटामा पुरिएको र धमिरा लागेको अवस्थामा बेला प¥यो पैसा
शिवहरि खतिवडा
काठमाडौं माघ ११ । एक वर्ष अगाडि चमत्कारिक रुपमा एकै साथ ३ बैंकलाई झुक्याएर २ करोड ९ लाख रुपैयाँ ठगि गर्नेलाई प्रहरीले एक वर्ष पछि पक्राउ गरि सार्वजनिक गरेको छ । महानगरिक प्रहरी प्रभाग हनुमानढोकाले शुक्रबार पत्रकार सम्मेलन गरी घटनामा संलग्नहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले घटनाको मुख्य योजनाकार भने फरार रहेको जनाएको छ ।
एक वर्ष अगाडि मेगा बैंक,राष्ट्रिय वाणिज्य बैंक र टुरिजम् डेभलपमेन्ट बैंकलाई झुक्याएर २ करोढ १० लाख ठगि भएको थियो । जसमा मेगा बैंकको धादिङ्ग शाखाका तत्कालिन प्रमुखको मुख्य योजना रहेको प्रहरीले जनाएको छ । जसमा बैंकको कान्तिपथ शाखा प्रबन्धकको पनि संलग्नता रहेको पाईएको प्रहरीले जनाएको हो । शुक्रबार प्रहरीले घटनामा संलग्न दुईजनालाई सार्वजनिक गरेको छ । मेगाको कान्तिपथ र धादिङ्ग शाखाका तत्कालिन प्रबन्धक एवं. मुख्य योजनाकारहरु भने फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले मुख्य योजनाकार बैंकको धादिङ्ग शाखाका प्रमुख राजेन्द्र पाण्डे रहेको जनाएको छ । २६ वर्षे पाण्डे धादिङ्गबेसीमा रहेको मेगा बैंकको तत्कालिन ब्रान्च मेनेजर (शाखा प्रबन्धक) हुन् । धादिङ्ग सलाङ गाबिस वडा नं. ६ स्थायी घर भएका पाण्डे हाल फरार छन् । उनले केही ब्यक्तिको सहयोमा चेक मार्फत २ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेका थिए । एकाउन्टपेयी चेक मार्फत मेघा बैंकमा रहेको टुरिजम डेभलमेन्ट बैंक रकम राष्ट्रिय बाणिज्य बैंकको खाताबाट उनीहरुले भुक्तानी लिएका थिए । संञ्जय ढकालको नाममा राष्ट्रिय बाणिज्य बैंकको भोटाहिटी शाखामा मेघा बैंकमा रहेको टुरिजम् डेभलपमेन्ट बैंकको खाताको चेक जम्मा गरि अनौठो ढंगले उनीहरुले बैंक ठगि गरेका थिए । मेगा बैकमा रहेको टुरिजम् डेभलप्मेन्ट बैकको खाताबाट २ करोड ९ लाख ९० हजार रुपैंया बराबरको चेक राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरिएको थियो ।
यसरी भएको थियो ठगि
टुरिजम्कोे मेगा बैकमा रहेको खाता नं. ००१००६०३५८३८६ बाट २०७० माघ १२ गते मेगा बैकको न्यूरोड शाखाबाट ९ लाख ९० हजार रुपैया र मिति १३ गते राष्ट्रिय वाणिज्य बैंक भोटाहिटी शाखाबाट २ करोड रुपैया चेक क्लियरिङ गरि २ करोड ९ लाख ९० हजार ढकाललको खातामा हालिएको थियो । जसमा पाण्डेसहित विगत ३१ बर्ष देखि बैंकिङ्ग क्षेत्रमा आवद्ध र ४ बर्षदेखि कान्तिपथ स्थित मेगा बैंकको शाखा प्रबन्धक शम्भु बहादुर थापाको पनि संलग्नता रहेको पाइएको प्रहरीले जनाएको छ ।  उनी योजनाकार तथा सहयोगि भएको र पाण्डे र थापाको योजनामा पाण्डेकै भाइ प्रविण पाण्डेले सहयोग गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । उनका अर्का भाई प्रदिप पाण्डे पनि घटनामा सहयोग भएको प्रहरीले जनाएको छ । ‘२०७०मंसिर ९ गते मेगा बैंक कान्तिपथ शाखाबाट अनाधिकृत ढंगबाट टुरिजम् डे.बैंकको नामको १० थान चेक जारी गरिएको थियो जसमा चेक जारी गर्दा आवश्यक फर्ममा प्रयोग भएको छुरिजम् बैंकको छाप, बैंकले प्रदान गरेको खातावालाको दस्तखत नमुना नियमानुसार सनाखत नगरिएको पाईयो’ प्रहरीले भनेको छ ‘तत्कालीन अवस्थामा चेक लिन आउने ब्यक्ति अल्फा विटा कलेजको विद्यार्थी परिचयपत्र लिई आएका थिए । उनी  प्रविण पाण्डे नै थिए’
मेगा बैंकको प्रबन्धककै दबाब
तत्कालिन मेगा बैंक शाखा कार्यालय धादिङका मेनेजर राजेन्द्र पाण्डेका सहोदर भाई पाण्डेले रजत तोदीको नामको भएको चेक बुझिलिंदा राकेश सिलवालको नक्कली परिचयपत्र र नाम राखि लिएका थिए । चेक दिने कर्मचारीले फर्म माथी शंका लागी चेक दिन आनाकानी गर्दा  कान्तिपथका प्रबन्धक थापाले  चेक दिन निर्देशन दिएका थिए । कान्तिपथ शाखा बैंकको केन्द्रीय कार्यलय रहेकै शाखा हो । चेक पाएपछि नै पुष ९ गते राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय टेकुमा रजत तोदीको नामबाट १७०००१२६३८१० नं. को खाता खोलिएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । खाता खोल्दा पेश गरिएका कागजातहरु सबै नक्कली थिए । ‘उक्त खाता हाल फरार राजेन्द्र पाण्डेले खोलेको भन्ने खुल्न आएको छ ।’ महानगरिय प्रहरी प्रधाग हनुमान ढोकाले उल्लेख गरेको विवरणमा भनिएको छ ‘बैंककै शाखा भोटाहिटीमा संजय ढकालको नामबाट १३६००३०७५२१० नम्बरको खाता खोलिएको थियो र उक्त खाता खोल्दा पेश गरिएका सम्पुर्ण कागजातहरु नक्कली थियो ।’दुबै खाता पाण्डेले खोलेको प्रहरीले जनाएको छ । १२ गते संजय ढकालको नामबाट प्रविण पाण्डेले मेगा बैंकको न्युरोड शाखाबाट टुरिजम्का तत्कालिन २ जना प्रमुख कार्यकारी मनोज खड्का र मोहन प्रसाद पाण्डेकोे दस्तखत गरि ९ लाख ९० हजार भुक्तानी लिएका थिए भने १३ गते प्रविण पाण्डेले संजय ढकालको राष्ट्रिय वाणिज्य बैंक भोटाहीटी शाखाको खातामा चेक क्लिएरिङ्गको माध्यमबाट दुई करोड जम्मा गरेका थिए । जसपछि उनीहरुले विभिन्न व्यक्तिको नाममा चेकबाट रकम निकाल्न सुरु गरेका प्रहरीले जनाएको छ ।
यसरी निकालियो पैसा
खातामा रकम जम्मा भएपनि सबिना खनालको नाममा वाणिज्य बैंकको महाराजगंज शाखाबाट ३५ लाखको चेक काटिएको थियो जसमा ४ लाखको भुत्तानी लिई बाकी ३१ लाख रजत तोदीको नाममा ट्रान्फर गरिएको थियो । त्यसैगरी आयुष झाको नाममा ३५ लाख काटीएको जसमध्ये ५ लाखको भुत्तानी लिई बाकी ३० लाख रजत तोदीकै नाममा ट्रान्फरगरिएको थियो । ‘यति सम्म की रकम भुक्तानी लिदा पेश गरेको राम प्रसाद वम्जन, एक बहादुर थापाको नामको नागरिकताको प्रतिलिपी अनाधिकृत रुपमा प्रयोग भएको पाईयो’ प्रहरी स्रोतले भनेको छ । बिभिन्न मितिमा बिभिन्न ब्यक्तिहरुको नामबाट संजय ढकालको नाममा काटिएको राष्ट्रिय बाणिज्य बैंकको चेकबाट १ करोड ४१ लाख ९० हजार रकम निकालिएको थियो । महाराजगन्जमै गत माघ १९ र २० गते क्रमशः ३० लाख र ३१ लाख गरी ६१ लाख एक हजार रजत तोदीको खातामा जम्मा भएको र हाल सम्म पनि उक्त रकमको भुक्तानी लिन कोही ब्यक्ती नआएको बैंकले जनाएको छ । यसैगरी  राष्ट्रिय वाणिज्य बैंकको भोटाहिटीबाट खोलिएको सन्जय ढकालको खातामा ७ लाख १ हजार मौज्दात रहेको प्रहरीले जनाएको छ । संजय ढकालको नाममा रा.बा.बैंक भोटाहिटीशाखामा खाता खोल्दा खातावालाको नाम संजय ढकाल, बुुबाको नाम श्यामकृष्ण ढकाल, ना.प्र.नं. ६२५२३, ठेगाना ठमेल १६ काठमाण्डौ लेखिएको थियो तर उक्त नाम र नागरीकता नम्वर मिल्ने ब्यक्ति सौरपानी ३, गोरखाको रहेको तथा निजको नाम समेत संजय ढकाल तथा ना.प्र.नं. ६२५२३ नै थियो । उनको मेगा बैंक कान्तिपथमा खाता रहेको थियो र त्यहीबाट थापाको सहयोगमा काजगपत्र निकालिएर बैक खाता खोलिएको थियो ।
अर्का रजत तोदीको नाममा टेकुमा खाता खोल्दा पनि उनको उक्त नाम र नागरीकता नम्वर मिल्ने ब्यक्ति मोरङ बिराटनगर–६ रहेको जनाईएको छ उनको पनि बिराटनगर स्थित मेगा बैंकमा खाता रहेको बताईएको छ ।
यसरी भयो अनुसन्धान
‘काम बिशेषले महाशाखाका प्रहरी अधिकृत बैंकमा पुगेर संजय ढकालको वारेमा बुझ्दा उनले आफ्नै हराएको ट्राभल्स डकुमेन्टको प्रयो गरेको र सोहि आधारमा थाईल्याण्डको कानून अनुसार त्यस्तो कागजपत्र भएको ब्यक्ति थाईल्याण्डमा बस्न नदिने ब्यवस्था अनुसार त्यहाँबाट फिर्ता गरेको जानकारी आएपछि उनलाई त्रिभुवन बिमानस्थलबाटै पक्राउ गरि अनुसन्धान गर्दा प्रहरीले घटनाको रहस्य जानकारी पाएको थियो । ‘उनलाई महाशाखामा ल्याई थप अनुसन्धान गर्दा उक्त ठगि कार्यमा उनको संलग्नता नभई मेगा बैंककै अन्य कर्मचारीको संलग्नता हुनसक्ने बलियो आधार फोला प¥यो’ प्रहरीको स्रोतले भनेको छ ‘ हामीले खाता खोलिएको टेकु शाखाको सिसिटिभी अनुसन्धान थालेका थियौं । उक्त फुटेजमा देखिएको ब्यक्ति धादिङ्ग स्थित मेगा वैंकको तत्कालिन मेनेजर राजेन्द्र पाण्डे भएको पाईएपछि हामीलाई अनसन्धान गर्न थप सजिलो भयो ।’  पाण्डे उक्त ठगि घटनाको मुख्य योजनाकार रहेको र उनी नै राष्ट्रिय वाणिज्य बैंक टेकुमा रजत तोदीको नाममा खाता खोल्न गएकोमा उनको हिंडाई तथा हुलियाको आधारमा उनको पहिचान गरिएको प्रहरीले जनाएको छ । ‘यतिसम्म कि खाता खोलिएको ९ गते राजेन्द्र पाण्डे बिदामा बसेको खुल्न आया र उनले घटनाको करिव १ महिना पछाडी नै क्यानडा जाने भन्दै बैंकबाट राजिनामा दिए ।’
पक्राउ गरिएका प्रविण पाण्डेका अनुसार सम्पुर्ण कुराको ब्यवस्थापन राजेन्द्र, प्रविण र शम्भु थापा मिलि गरेको र राजेन्द्र पाण्डेले मेगा बैंकका खातावालाहरुको विवरण प्रविण पाण्डेलाई उपलब्ध गराएको, सोही विवरण  प्रयोग गरि निज प्रविण पाण्डेले नक्कली कागजातहरु तयार गरेको पाईएको प्रहरीले जनाएको छ ।
धमिराले खाएको र माटोमा पुरिएको अवस्थामा भेटियो पैसा
पैसा निकालीसके पछि काठमाण्डौ गोंगबुमा रहेको प्रविणको डेरा र धादिङ स्थित घरमा लगेर रकम लुकाएको प्रहरीले जनाएको छ । धादिङमा रहेको मेगा बैंक शाखाका मेनेजर  पाण्डे र उनको भाई प्रविणको कान्तिपथ शाखाका मेनेजर शम्भु बहादुर थापासंग राम्रो सम्बन्ध रहेको समेत प्रहरीले जनाएको छ । तर थापाले प्रहरीले  पाण्डेलाई देखाउदा आफुले नचिन्ने बयान दिएका थिए ।
घटना भएको करिब एक वर्ष अगाढि यही माघ ७ गते मात्र गोंगबु ५ स्थित प्रविण पाण्डे र प्रदिप पाण्डेको डेराबाट धमिराले खाएको अवस्थाको नगद दश लाख १५ हजार ५ सय  र ८ गते धादिङ सलाङ ६ मा रहेको घरमा माटोले टालेको अवस्थामा तथा बारीमा गाडिएको अवस्थामा सडिगलेको अवस्थामा रहेका गन्न नसकिने नोटका बण्डलहरु प्रहरीले फेला परेको थियो ।
प्रहरीले देखायो तिनै बैंकको कमजोरी
प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो ठगि भएका बैंकहरु तिनवटैको कमजोरी देखाइएको छ । जसमा टुरिजम्का तत्कालिन प्रमुख कार्यकारी अधिकृत रेवन्त दाहालले बैंक छाडेको ६ महिना बितीसक्दा समेत सो सम्बन्धमा छुरिजम्ले मेगा बैंकलाई आधिकारीक रुपमा जानकारी नगराएको र आफ्नो कारोबारको पनि अपडेट नलिएको देखाईएको छ । त्यसैगरी मेगा बैंकले पनि कान्तिपथ शाखाबाट अनाधिकृत ढंगबाट आधिकारिक पत्र विना टुरिजम्को चेक जारी गरेको भन्दै कमजोरी देखाएको छ । राष्ट्रिय वाणिज्य बैंकले पनि आधिकारीकताविना खाता खोलेर कमजोरी गरेको प्रहरीले जनाएको छ ।

0 comments:

Post a Comment