12/01/2013

नेपाल बैंक पनि मुछियो बोनस काण्डमा (हेर्नुहोस विवरणसहित)


 राष्ट्र बैंकका अधिकारीहरु पनि मुछिए

लामो समयदेखि सञ्चित घाटामा रहेको नेपाल बैंकले बितेका तीन आर्थिक वर्षमा नियम विपरित सुटुक्क बोनस बाँडेको फेला परेको छ । बैंकले पछिल्ला तीन आर्थिक वर्षको कारोबारमा नाफा कमाएको भन्दै आफ्ना कर्मचारीलाई बोनस बाँडेको भेटिएको हो । जुनसुकै आर्थिक वर्षमा नाफा गरे पनि सञ्चित नोक्सान पूर्ति नभएसम्म सरकारी स्वामित्वको संस्थानहरुलाई बोनस वितरण नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन नाघेर बैंकले बोनस बाँडेको हो । यसरी बोनस बाँड्दा अर्थ मन्त्रालयको समेत स्वीकृति लिइएको छैन ।

यसअघि नेपाल आयल निगमले पनि सरकारको सहमति बिना सञ्चालक समितिबाट निर्णय गरेर नाफा भएको वर्षको बोनस वितरण गर्दा सञ्चित नोक्सानमा रहेको संस्थानले बोनस वितरण गर्नु गैर कानुनी भन्दै अख्तियारले गत असोजमा निगमका उच्च अधिकारीलाई पक्राउ गरेको थियो । नेपाल बैंकमा पनि कारबाही थाल्न अख्तियारले छलफल थालिसकेको छ । ‘अर्थ मन्त्रालयसँग बोनसका बारेमा सोधेका छौ, त्यहाँबाट जवाफ आएपछि के गर्ने भन्ने बारेमा निर्णय गर्छौं’ अख्तियार स्रोतले भन्यो । सञ्चित नोक्सानमा रहेको नेपाल बैंकलाई के आधारमा बोनस वितरणको सहमति दिएको भनेर पनि अख्तियारले राष्ट्र बैंकलाई समेत सोधेको छ ।  अख्तियारले कारबाही अघि बढाए यो मुद्दामा नेपाल बैंकका अधिकारीका अतिरिक्त राष्ट्र बैंकका अधिकारीहरुसमेत तानिन सक्छन् ।

गत असार मसान्तसम्म बैंक ३ अर्ब ८८ करोड ९० लाख ९९ हजार सञ्चित नोक्सानमा छ । सरकारी स्वामित्वको यो बैंकमा विश्व बैंकअन्तर्गतको वित्तीय सुधार कार्यक्रम लागू भएर क्रमशः सुधार भइरहेको छ भने व्यवस्थापन अझै नेपाल राष्ट्र बैंकका अधिकारीले सम्हालिरहेका छन् । यद्यपि, यसको सञ्चित नोक्सानी बाँकी छ ।  अर्थ मन्त्रालय स्रोतका अनुसार नेपाल बैंकले अर्थ मन्त्रालयको सहमति बिना नै बोनस वितरण गरिएको छ भने यसको जानकारी नेपाल राष्ट्र बैंकले पनि अर्थ मन्त्रालयलाई दिएको छैन । नेपाल बैंकको सञ्चालक समितिले पास गरेको ब्यालेन्ससिटलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि मात्र बैंकले बोनस वितरण गर्छ । बैंकले भने बोनस ऐन, २०३० बमोजिम राष्ट्र बैंकबाट स्वीकृत गरेर मात्र बोनस वितरण गरेको बताउँछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकको बोनस वितरणको बारेमा सहमति दिएको वा नदिएको भन्ने बारेमा अर्थ मन्त्रालयमासँग जवाफ माग गरिसकेको छ ।

व्यवस्थापनको कमजोरीको कारण सञ्चित नोक्सानी भएको भन्दै नेपाल राष्ट्र बैंकले नेपाल बैंकको व्यवस्थापनको नेतृत्व गरेको छ । बैंकले सञ्चित नोक्सानी पूर्ति नगर्दै बोनस वितरण गरेपछि अख्तियारले छानबिन सुरु गरेको हो । अख्तियार स्रोतका अनुसार नेपाल बैंकले आर्थिक वर्ष २०६६÷०६७, ०६७÷०६८ र ०६८÷०६९ मा बोनस वितरण गरेको हो । ती तीन आर्थिक वर्षमा नाफा गरेको कारण बैंकले बोनस वितरण गरेको हो ।

अख्तियारले कारबाही थालेपछि आयल निगमले भने वितरण गरिएको बोनस फिर्ता गरेको थियो । रकम फिर्ता भएपछि मात्र पक्राउ परेका कर्मचारीहरु रिहा भएका थिए । निगमले ट्रेड युनियनहरुको दबाबमा बोनस वितरण गरेको थियो । सार्वजनिक संस्थानहरु धरासायी हुँदै गएपछि अख्तियारले कारबाहीलाई केही कडा गर्न लागेको हो । आयल निगमले वार्षिक साधारणसभा र सञ्चालक समितिबाट पास गरेरै बोनस वितरण गरे पनि अख्तियारले कारबाही चलाएको थियो । निगमले आव ०६७÷०६८ को नाफाको समयको बोनस वितरण गरेको थियो । 
साभार ः व्यापार साप्ताहिक
थप विवरण हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस विज्ञापन छ भने पहिला यसलाई हटाउनुहोस । 

0 comments:

Post a Comment