पहिलो चरणमा दुई अर्बको सम्पत्ति र साँढे तीन अर्बको हकप्रद शेयर बेचिने
शिवहरि खतिवडा
काठमाडौं, चैत ९ । चुक्ता पुँजी चार अर्ब पु¥याउने तयारीमा लागेको नेपाल बैंकले सम्पत्ति बिक्री गर्न थालेको छ । बैंकले पुरानो तथा निष्क्रिय गरी दुई अर्ब रुपैयाँबराबरको सम्पत्ति बिक्री गर्न थालेको हो । त्यसबाहेक केही जग्गा र भवनसमेत बिक्री गरिने बैंकले जनाएको छ ।
पुँजी वृद्धि योजनाअनुसार बैंकले गत मंसिरमा नेपाल स्टक एक्सचेन्जमा आफ्नो सेयर पुन सुचीकरण गरी कारोबार थालेको थियो । सोही योजना अनुसार बंैकले जारी गर्न लागेको हकप्रद सेयरको फाइल नेपाल धितोपत्र बोर्डमा पुगेको छ । बैंकले अब चाँडै आफ्नो योजनाअनुसारको पुँजी पु¥याउने गरी तयारी थालेको जनाएको छ । नेपालकै पहिलो यो बैंकले पहिलो चरणमा विभिन्न जिल्लामा रहेको सम्पत्ति बिक्री गर्ने जनाएको छ ।
‘बैंक तथा वित्तीय संस्थाहरूले जनताको निक्षेप परिचालन गर्ने भएकोले आफ्नो पुँजी पनि बलियो हुनुपर्दछ भन्ने भएर हामीले पुँजी योजना परिमार्जन गरेर बढाउन लागेका छौैं,’ बैंकको व्यवस्थापन समूहका संयोजक महेश्वरलाल श्रेष्ठले भने, ‘चार अर्ब पुँजी बनाउने योजना ल्याएका छौं, यसमा सम्पत्ति बिक्री सुरु भएको छ र हकप्रद सेयरको फाइलसमेत धितोपत्र बोर्डमा पुगेको छ ।’ बैंकले आफ्नो पुँजी वृद्धि योजनामा १ सेयर बराबर ९ दशमलव ५ हकप्रद सेयर जारी गर्ने अन्तिम तयारी गरेर बोर्डमा पठाएको श्रेष्ठले जानकारी दिए ।
बैंकले पहिलो चरणमा दुई अर्ब बराबरको सम्पत्ति बिक्री गर्न लागेको र ३ अर्ब ६२ करोड रुपैयाँ हकप्रद सेयर बिक्रीबाट रकम थप गर्न लागेको हो । ७६ वर्ष अगाडि स्थापना भएको यो बैंक १० वर्ष अगाडि धेरै घाटामा गएपछि विश्व बैंकको सहयोगमा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू गरेर सुधारको प्रयास गरिएको थियो । तर त्यो प्रयास सफल नभएपछि बैंकले नयाँ कार्यक्रम अनुसार पुँजी वृद्धिको योजना ल्याएको हो ।
गत वर्ष ल्याइएको यो योजना नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको स्वीकृतिपछि कार्यान्वयनमा आएको छ । बैंकको एक दशकअगाडि खराब कर्जा ६० प्रतिशतको हाराहारीमा थियो भने ऋणात्मक नेटवर्थ नै १२ अर्ब माथि थियो । तत्कालीन सरकारको पहलमा नेपालमा बैंक तथा राष्ट्रिय वाणिज्य बैंकसमेतलाई ध्यानमा राख्दै सन् २००२ जुनमा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू गरिएको थियो ।
यो कार्यक्रम लागू भएपछि बैंकको अवस्थामा क्रमिक सुधार भएको श्रेष्ठले बताए । वित्तीय क्षेत्र सुधारको कार्यक्रम लागू भएपछिको व्यवस्थापन नेपाल राष्ट्र बैंकले सम्हाल्दै आइरहेको छ । अहिले बैंकको खराब कर्जा ५ प्रतिशत रहेको छ । शाखा कार्यलयहरू १ सय २० वटा छन् । माओवादी द्वन्द्वअगाडि बैंकका शाख २ सय ४३ वटा थिए । अहिले यो बैंकमा ५७ अर्ब निक्षेप, ३२ करोड लगानी तथा १० अर्ब सरकारी ऋणपत्रमा लगानी रहेको छ । सरकारको ४० दशमलव ४९ प्रतिशत सेयर स्वामित्व रहेको यो बैंकमा निजी लगानीकर्ताको ४९ दशमलव ९४ प्रतिशत स्वामित्व छ । अरू बैंक तथा वित्तीय संस्थाको बैंकमा ८ दशमलव ३४ प्रतिशत र बाँकी अन्य संस्थाहरूको सेयर स्वामित्व रहेको छ ।
बैंकको वित्तीय अवस्था
१९९४ सालमा स्थापना भएको यो नेपालको पहिलो बैंक हो । राष्ट्र बैंकले सम्हालेको यो बैंकको व्यवस्थापन समिति संयोजक प्रा डा देवराज अधिकारी छन् । बैंकमा सर्वसाधारणको निक्षेप ५७ अर्ब १ करोड रहेको छ भने ३२ अर्ब ४२ करोड कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा लगानीको आधार दर १० दशमलव १४ प्रतिशतको हाराहारीमा छ । बैंकको खराब कर्जा ५ दशमलव ४० प्रतिशत, सिडी रेसियो ६० दशमलव १८ प्रतिशत, शाखा कार्यालय १ सय २०, एटिएम २९ वटा रहेको छ । बंैकले घरजग्गामा लगानी १ अर्ब ४८ करोड गरेको छ । बैंकमा करिब १० लाख जना खातावाला छन् । बैंकमा २७ सय ४० जना कर्मचारी छन् । कर्मचारीमा मात्र प्रतिमहिना १० करोड ८० लाख रुपैयाँ खर्च हुने गरेको छ । अपरिष्कृत विवरणअनुसार बैंकको नेटवर्थ २ अर्ब ६८ करोड ऋणात्मक रहेको छ ।
0 comments:
Post a Comment