4/08/2014

ठग्ने र ठगिनेको गोलचक्रमा बीमा व्यवसाय

सजिल्यै ठगिन्छन् बीमा कम्पनी
ग्राहक ठग्न पनि कम छैनन् व्यवसायी
शिवहरि खतिवडा
काठमाडौं चैत २३ । 
घटना नम्बर १ ः करिब एक महिनाअघि आयल निगमको २० किलोलिटर पेट्रोलियम पदार्थ बोकेर आउँदै गरेको ना ४ ख ३११५ नम्बरको ट्यांकर भारतको फारविसगञ्जनजिक दुर्घटना भयो । २० किलोलिटर पेट्रोल पनि दुर्घटनामा नष्ट भएको भनियो तर  अध्ययन गर्दा त्यसको प्रमाण फेला पारेनन् र कम नोक्सानीको सर्वे रिपोर्ट तयार पारे । कम नोक्सानी देखाइएको भन्दै ढुवानी व्यवसायी सर्वेयरविरुद्ध आन्दोलनमै उत्रिए ।
घटना नम्बर २ ः प्रमुख लगानीकर्ता राजेन्द्र खेतानकै लगानी रहेको मायोज चाउचाउ उत्पादन गर्ने हिमालयन स्न्याक्स प्रालिमा आगलागी भएपछि उनकै कम्पनी एभरेष्ट इन्स्योरेन्सले प्रक्रिया नपु¥याई चार करोड रुपैयाँ भुक्तानी ग¥यो । कानुनविपरीतको यो दाबी भुक्तानीकै कारण एभरेष्ट बीमा समितिको कारबाहीमा प¥यो भने अध्यक्ष खेतानले पनि राजीनामा दिनुप¥यो ।
घटना नम्बर ३ ः बीमा कम्पनीहरूले दाबी भुक्तानी नदिएको र समयमा दाबी नपाएको भन्दै गत वर्ष बीमा समितिमा एक सय ५० बीमीतले उजुरी दिए । जसमा समितिले करिब ६५ प्रतिशत फैसला बीमीतकै पक्षमा गरिदियो ।
           यी घटना बीमा कम्पनी र ग्राहकबीच ठग्न गरिएको प्रतिस्पर्धा (गोलचत्र) शृंखलाको उदाहरण मात्र हुन् । अहिले बीमा क्षेत्रमा ग्राहकले सके ग्राहक र कम्पनीले सके कम्पनीले ठग्न खोज्ने प्रतिष्पर्धा नै चल्ने गरेको छ । जसले बीमा क्षेत्रको विश्वसनियतामा प्रश्न खडा हुने अवस्था आएको छ । बीमा कम्पनीहरूमा हुने झुटो दाबी माग र झुटो भुक्तानी अहिले सर्वाधिक चुनौती मात्र भएको छैन यसको कारण केही बीमा कम्पनी धारासायी नै भइसकेका छन् ।
बीमा कम्पनीहरूले नै दिएको जानकारी अनुसार मोटर बीमा, स्वास्थ्य बीमा तथा अग्नी बीमामा अत्याधिक झुटो दाबीको माग (फ्रड) हुने गरेको छ । जीवन बीमा कम्पनीमा कम ठगी हुने भए पनि निर्जीवन बीमा कम्पनी ठग्नेहरूका लागि एउटा अखडा नै बन्ने गरेको छ । यस्तो ठगिमा संलग्न रहेको आरोपमा बीमा समितिकै तत्कालीन कार्यकारी निर्देशक विनोद अर्याल कारबाहीमा परेपछि अझै यो क्षेत्रको हुने गरेको डरलाग्दो ठगिको आशंकालाई प्रमाणित गरिदिएको थियो ।
बीमा ठगिमा विमित, प्रहरी, डाक्टर, सर्वेयर संलग्न हुन्छन् जसको नियन्त्रणको लागिसमेत समस्या हुँदै आएको छ । कम्पनीहरूले ठगी भएको शंका लागेमा प्रहरीमा उजुरी दिनसक्ने कानुनी व्यवस्था छ तर कम्पनीकै कर्मचारी वा अधिकारीहरूको मिलेमतोमा हुने यस्ता उजुरी प्रहरीसम्म कमै पुग्छन् । यद्यपि कम्पनीबाट भुक्तानी नपाएको भन्दै सर्वसाधारण भने बीमा समितिसम्म पुग्ने गरेका छन् ।
‘हामीमा प्रहरीकै साथीहरूको मिलेमतोमा यसरी बीमा ठगी हुन्छ भन्ने जानकारी आएको छ । कोही यस्तो ठगीमा संलग्न रहेको पाइएमा कडाभन्दा कडा कारबाही गर्छौं,’ वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रहरी प्रवक्ता गणेश केसी भन्छन्, ‘सवारी दुर्घटनाका सम्बन्धमा यस्तो झुटो रिपोर्ट बन्ने गरेको पाइएको छ ।’ उनले झुटो रिपोर्ट बनाउन सहयोग गर्ने प्रहरीलाई निलम्बन गर्नेसम्मको विभागीय कारबाही गर्ने बताए ।
अहिले मोटर बीमा र स्वास्थ्य बीमाका ग्राहकले त्रिपक्षीय संलग्नतामा सजिल्यै बीमा कम्पनीलाई ठग्ने गरेका छन् । बीमा कम्पनीमा प्रहरी र डाक्टरकै मिलेमतोमा झुटो विवरणसहितको दाबी भुक्तानीको दबाब आउने गरेको समेत बीमा कम्पनीका अधिकारीहरू बताउँछन् । बीमा समितिका निर्देशक श्रीमन कार्की बीमा कम्पनीहरूको ठगी अहिले ठूलो समस्याको रूपमा रहेको र यसलाई निरुत्साहन गर्न समिति क्रियाशील रहेको बताउँछन् । ‘उजुरी आउने गरेका छन्, सामान्य उजुरीको विषयमा हामी नै फैसला गर्छौं विशेष किसिमको ठगी छ भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई नै जिम्मा लगाउने गरिएको छ ।’ कार्कीकै भनाइअनुसार पनि बीमा कम्पनी र बीमीत दुवैले कहिले बढी दाबी माग गर्ने तथा कहिले सर्वेयरको प्रतिवेदन नआउँदै भुक्तानी दिने क्रम बढेको छ । ‘धेरै ठूला उद्योगीले आफ्नै लगानीमा बीमा कम्पनी चलाएका छन् । उनीहरू ‘आफ्नो हात जगन्थान’ भनेजस्तो प्रक्रिया नपु¥याई आफ्नै कम्पनीबाट दाबी भुक्तानी लिन हतार गर्छन्,’ बीमा समितिका अधिकारीहरू बताउँछन् ।
उता, दाबी भुक्तानी नपाएको भन्दै गत आर्थिक वर्षमा परेका एक सय ५० उजुरीमा बीमा समितिले ५४ उजुरीको फैसला गरेको थियो । यो वर्ष पनि उजुरी बढ्ने क्रम जारी रहेको र केहीको फैसला भए पनि केही अध्ययनकै क्रममा रहेको समितिका निर्देशक कार्कीले बताए । गत वर्ष समितिमा रहेका कुल एक सय ५० उजुरीमध्ये १७ वटा सहमतिमा टुंगिएका थिए भने झन्डै ७० उजुरीहरू अझै फैसला हुन बाँकी छ । गत आर्थिक वर्षमा समितिमा ९३ वटा उजुरी थपिएका थिए जसमा अघिल्लो आर्थिक वर्षमा दर्ता भएका ५७ उजुरी पेन्डिङमा थिए ।
समितिका अनुसार बीमाभन्दा निर्जीवन बीमा कम्पनीहरू ग्राहक ठग्न पनि अगाडि छन् । गत वर्ष मात्र सगरमाथा इन्स्योरेन्सका र लुम्बीनी जनरलका १६, एभरेष्ट इन्स्योरेन्सका १५, एनएलजी इन्स्योरेन्सका १४, एलाइन्स इन्स्योरेन्सका १३ र राष्ट्रिय बीमा संस्थानको १२ वटा उजुरी परेका थिए । ६ कम्पनीका ८६ उजुरीमध्ये १३ वटा सहमतिमा टुंगिए भने २७ वटा उजुरीको फैसला भएको छ ।
निर्जीवन बीमा कम्पनीमा मोटर इन्स्योरेन्स र एभिएसन इन्स्योरेन्ससम्बन्धी उजुरीहरू बढी पर्ने गरेको छ । समितिले फैसला गर्ने उजुरीमा चित्त नबुझे पुनरावेदन अदालतमा निवेदन गर्नसक्ने व्यवस्था रहेको छ । ‘हामीकहाँ भएको फैसलाको चित्त नबुझे पुनरावेदन अदालतमा निवेदन दिन सक्ने व्यवस्था रहेको छ,’ हिमालय टाइम्ससँग कुरा गर्दै कार्कीले भने ।

0 comments:

Post a Comment