4/07/2013

एसएलसी पछि पत्रकारीता पढ्न चाहने विद्यार्थीहरुले यो पढ्नुहोस


पत्रकारिताका भिजिलान्तेहरु 
देशको कार्यपालिका,न्यापालिका,व्यवस्थापिकापछिको अंग पत्रकारिता रे ! अहिले त अझै व्यवस्थापिका नभएपछि पत्रकारिता देशको तेस्रो अंग हो भनेर भनिन्छ । कुनै समय थियो नेपालमा सेना, प्रहरी जस्तै गरी पत्रकारहरु पनि खटिन्थे । राति १२ बजे दिउँसो १२ बजे जे भएपनि पत्रकार सर्तक हुनुपर्ने बेला थियो,ईज्जतको पेसा थियो यो । तर अहिले पत्रकारिता पेसा निकै सस्तो छ । पत्रकारिताको नाममा एकातिर हल्लाकारिताको विकास भएको छ भने अर्कोतिर यसको व्यवसयीकता पनि नासिँदै गएको छ । यसको उदाहरण एक ः राससले राजधानीको तिन स्थानमा शंस्कास्पद वस्तु फेला परेको समाचार सार्वजनिक ग¥यो । यो समाचार अनलाईनमा यति फैलियो कि कसैले त्यसलाई बम भने कसैले बैद्य माओवादीले फेरी बम बारुद चलाउन थाल्योसम्म भन्न भ्याए पछि थाहा भयो त्यो केही होईन रहेछ । अर्को पारसको मृत्यूको हल्ला त्यसैगरी फैलियो । अब यो हल्लाकारिताका दुनिया बनेको छ ।
 पत्रकारिताको गौरवको पेसा आज संकटमा परेको छ कारण अनलाईनमाथि कुनै नियन्त्रण छैन र त्यसको आधारमा कोठामा बसेर समाचार लेख्ने कोठे पत्रकारहरुको विगविगी छ । आखिर विना नियन्त्रण फैल्याएको यो पेसा र व्यवसायको अस्थित्व के हो ? त्यो कसैले चासो राखेको छैन । चासो राख्नु जरुरी पनि ठानिदैन किनभने नेपालमा सबै किसिमको पत्रकारितालाई अंगको ट्याग लगाईएको छ । त्यो कुन अंग हो मिडिया अनुसार आफैंले विश्लेषण गर्नुपर्ने अवस्था आएको छ ।    
जिल्ला–जिल्लामा रहेका साथीहरुलाई त यो पेसा गौरवको पेसा भएको छ । काठमाडौंबाट निश्कने एक दैनिक पत्रिकामा जागिर पाए उहाँहरुलाई पुग्यो । तर राजधानीका केही सीमित मिडिया बाहेकका साथीहरुलाई यो पेसा बाध्यताको पेसा भईसकेको छ । विशेषगरी पत्रकारिता पेसामा लाग्ने पत्रकार तथा कर्मचारीहरु हिजोआज यो व्यवसाय गर्ने देखावटी साहुहरुको कठपुतली हुँदै छन् । कारण, पत्रकारिता व्यवसाय जसले जसरी पनि सञ्चालन गर्न पाउछ रे,यो हाम्रो लोकतन्त्रको उपलब्धि नै भएको छ । पत्रकारितामा लागेमा नेपाल जे गर्न पछि छुट छ रे ! त्यसैले अन्तबाट कालोमैलो भएकाहरु पनि सजिल्यै यो पेसामा आईरहेका छन् । यो हामीले यहाँ लेखिरहनु पर्दैन कि पत्रकारितामा कस्ता कस्ता साहुहरु आएका छन् र आफ्नो लगानी गरेको देखाएर समाचार र मिडियालाई कसरी कठपुतली बनाईरहेका छन् । त्यसभन्दा पिडित त्यसमा काम गर्ने पत्रकार र कर्मचारी भईरहेका छन् । केही समय अगाडिमात्र एक दैनिक पत्रिकाका उच्च कर्मचारी लेवलका एक व्यक्ति विवाद भएपछि त्यस पत्रिकाबाट बाहिरिए, अनि बडो फुर्तिका साथ अर्को एक दैनिक पत्रिका सञ्चालनतर्फ लागे,एक वर्ष वितेपछि विवादको कारण उनी त्यहाँबाट पनि बाहिरिए,उनी करिब देढ वर्ष वस्दा ९ महिनासम्म कर्मचारीले तलब खान पाएनन्, पत्रिका चल्यो र पावर चलेन,उनको बजार चलेन,नामले तलब खान दिएन, र अब फेरी अर्को दैनिका पत्रिका सञ्चालनमा लागेका छन् त्यसको पनि हविगतको विषयमा अहिले नै के होला भनेर लेखिरहनु पर्दैन । नेपालका नाम चलेका अरु दैनिक पत्रिकामा समेत यस्ता उदाहरणहरु निक्कै छन् । एक मिडियामा विवाद भएपछि अर्को मिडियामा लाग्ने चलन अलिहे नेपालमा निक्कै चलेको चलन हो । यो प्रथा टेलिभिजनमा अझै जिवित छ । नेपालमा कस्ता टेलिभिजन आउँछ र बजार कस्तो छ त्यो अवस्थाको विषयमा चासो राख्नु भन्दा अरुको सिको गरेर यो क्षेत्रमा सुरुमा पैसा खन्याउने र अरु समयमा हात बाधेर बस्ने अर्का लाईनका कथपुतली साहुहरु पनि प्रसस्तै छन् । मिडियामा जागिरको लागि प्रसस्तै पदहरु खुलेका हुन्छन् तर पदपूर्ति भएपछि त्यही पद आफूलाई घाँडो हुन्छ । यो अहिलेको पत्रकारहरुको हविगत हो ।    
हामीमा मिडिया भन्नेवित्तिकै जे कुराको पनि छुट छ राज्यमा,सरकार मिडिया सञ्चालकहरुको आर्थिक पृष्ठभूमि हेर्दैन र काम गर्ने पत्रकार कर्मचारीहरु पनि काम पाए मात्र ठूलो कुरा हो भन्दै जस्तो पायो त्यस्तै मिडियामा छिर्छन परिणाम स्वरुप आफूलाई यो पेसाबाटै पलायन गर्न बाध्य हुन्छन् । अब समय यस्तो आएको छ कुनै मिडियामा रोजगारी पाईयो भने ति मिडियाका सञ्चालकहरुको तिन पुस्ते विवरण हेर्नु पर्ने भएको छ । उनको घर हरेर उनको मिडियामा काम गर्नुपर्ने बेला आएको छ । यो क्षेत्रकै लागि नयाँ व्यवस्थाको रुपमा सञ्चालकको पृष्ठभूमिको आधारमा जागिरमा प्रवेश गर्नुपर्ने बेला आएको छ । हामी काठमाडौंका झोले सञ्चालकको पछि लाग्यौं भने हामीले न त राम्रो पत्रकारीता गर्न सक्छौं न त यो पेसाको मर्यादा नै कायम गर्न सक्छौं । पत्रकारितालाई जिवित पेसा मानेर यो विषयमा लाग्ने विद्यार्थीहरुले समेत यो विषयमा पहिला बुझ्नु जरुरी छ । विना पैसाको पेसा नेपालमा कतिदिन टिक्छ र त्यसमा आफूलाई कसरी टिकाउन सकिन्छ पहिला त्यो विश्लेषण गरौं । अहिले पत्रकारिता ईज्जतको पेसा हो तर यो बेईज्जतको पेसा पनि हो । संवेदनशलि क्षेत्र हो र यहाँ निक्कै समना गर्नु पनि छ । यो कुरालाई हामीले सुरुमा बुझौं । 
हामी अरु कम्पनीहरुमा कर्मचारीले एक महिना तलब नपाएको समाचार लेख्छौं तर आफैं महिनौंसम्म पिडित भएको कतै उकेल्दैनौं कारण त्यही हो हामीलाई तलब भन्दा जागिरको माया भयो । विना तलबको जागिर खानुभन्दा कृषि पेसामा लागे फाईदा छ भनेर केही साथीहरु त्यता तिर पनि लाग्नु भएको रहेछ । काभे्रमा गएपछि त्यो करा पनि थाहा भयो । पत्रकारितामा लाग्नेहरुलाई सुरुमा यो पेसा रहरको पेसा बन्छ तर यसमा निरन्तर लागेपछि आफूलार्ई यही पेसामा टिकाउन सक्छ कि सक्दैन भन्ने हुन्छ । त्यसैले कतिपयले यही पेसालाई गरिखाने भाडोको रुपमा विकास गरे जसले राम्रा पत्रकार र मिडियाको समेत बदनाम धेरै भयो । त्यसो नहुँदो हो त अहिले एक महिना काम गरेका टेलिभिजन पत्रकार अर्को महिना सो टेलिभिजनमा भेटिदैनन् । दैनिक पत्रिकामा पनि यही प्रथाको विकास भएको छ । हाली मुहाली गर्ने ठूला मिडियाहरुलाई हेरेर सरकारले नीति बनाउँछ तर साना मिडियामा के समस्या छ त्यो सरकार हेर्दैन । पत्रकारीताको हितको लागि स्थापना भएको भन्ने गरिएको पत्रकार महासंघ पनि राजनीतिक पत्रकारहरुको लागि एक थलोको रुपमा विकास भएको छ । पत्रकार महासंघले आफूलाई प्रमाणित गरेर भन्न सक्नुपथ्र्यो महासंघको स्थापना भएपछि पत्रकारको भन्दा सञ्चार क्षेत्रमा के परिवर्तन भयो ? आखिर के गर्न सक्यो नेपाल पत्रकार महासंघले यस्तो कठपुतली मिडिया र भिजिलान्ते मिडिया सञ्चालकहरुलाई ? 
पत्रकरिताको नाममा खुलेका यस्ता मिडियाहरु पनि छन् जो कुन समयमा कस्ता व्यपारी र व्यवसायीलाई प्रहार गर्ने हो भन्ने जानकारी हुँदैन । यस्ता मिडियाले प्रयोग गर्ने पत्रकार नै हुन । उनीहरुले पत्रकारको वास्तविक (पिआर–पब्लिक रिलेशन) जनसम्पर्कलाई यसरी विगारिदिन्छन् कि भोली आफू यो क्षेत्रमा नै विक्न गा–हो हुन्छ । समाचार नलेखे जागिर जोगिँदैन समाचार लेखे हाम्रो बजार जोगिँदैन । यस्ता निकै धेरै चूनौतीहरु यो क्षेत्रमा छन् । चूनौती मोल्न चाहनेहरुले समेत यो क्षेत्रमा प्रवेश गरेपछि मात्र आफू कस्तो चूनौतीमा छु भनेर जानकारी पाउँछन् । समाचार लेख्न पत्रकार नै हुनु पर्दैन । विचार व्यक्त गर्न पत्रकारिता नै पढ्नु पनि पर्दैन । हामी हाम्रो सिक्ने समयलाई अरु व्यवहारिक शिक्षामा लगाऔं । पत्रकारिता पृष्ठभूमिमा राखौं । तर,यो कुरा पनि विचार गरौं पत्रकारिता सबै नराम्रो पेसा होईन । यो क्षेत्रमा आउन चूनौती छ र चूनौतीको फल खान छुट्टै मज्जा पनि हुन्छ । हल्लाको भरमा यो क्षेत्रमा नआउनु नै बेस । अन्यथा बलमा काचेको हावा जस्तो यो क्षेत्रमा कोचिनु युवा अवस्थाको अर्को नमज्जा हुने छ । 

1 comments:

Post a Comment