7/26/2012

महरु

उही साँझ, उही समय, उही अध्याँरो, उहि बाटो, उहि परिस्थिती सबै कुरा उही छन् । विगत एक वर्षदेखिको मैले देखेको यो उहि कहिले काँही  प्राधिकरणले लोडसेडिङ गरेको समयमा बाहेक अरु बेला बदलिएन । घर फर्केने बाटो उही, समय उही, अनि बाटामा भेटिने बटुवाहरु उही, सबै उही अवस्थामा, उही कुराको खोजीमा र म जस्तै उही कुरा खोजेर आफ्नोे कुटीमा फर्किदै । मनमा धेरै कुराहरु खेल्छन म यो उहीबाट कहिले छुटकारा पाउने होला ? एक मनले यो पनि सोच्छ तर अर्कोमनले छुटकारा पाए के गर्ने भनेर फेरी आफैंलाइ प्रश्न ते¥याईदिन्छ । निरिह भएर उही मनले फेरी भन्छ अहं गर्ने केही छैन कनिकि यो शहर हो,काठमाण्डु हो, यहाँ मैले नगरे भोली म आफैं भोकै बस्नुपर्छ । मैले चाहेर पनि एक हप्ता छुटकारा पाउन सक्ने अवस्था छैन किनिकि म कार्यालय रुपी श्रम शिविरको जन्जिरमा नराम्रोसंग बाँधिएको छु । धेरै दाजुभाई हुुनुहुन्छ जो भविष्यको खोजीमा शहरमा पस्नुभएको छ तर यहाँ विस्तारै भविष्य हराईरहेको छ । कतै यो जन्जिरबाट फुत्केर आकासमा खुल्ला रुपमा चरी बनि उँडौ लाग्छ फेरी भुईमा झर्दा आफ्नै भाग हराउँला भन्ने पिर ।
फर्केर हेर्छु अरु धेरै साथीहरु भविष्यको खोजीमा विश्वका धेरै गन्तव्यलाई पछ्याउनुभएको छ । त्यो चाहे खाडी होस चाहे समुन्नत भनाउने राष्ट्र होस । उहाँको सपना भनेको पनि भविष्यको खोजी नै हो मेरो सपना पनि उही नै हो । उहाँहरु उता बसेर भविष्य खोजीरहनु भएको छ म यता बसेर खोजीरहेको छु तर फेरी पनि उही भोक जसले गर्दा एटटा बलमा हाँवा कोचिएको जस्तो आफूलाई र भविष्यलाई कोचिदिएको छ । पेटको भोक,शरिरको भोक,परिवारको भोक,आफ्नो मान्छेको भोक । खानको लागि भोक,लाउनको लागि भोक,मनोरन्जनको लागि भोक,आफ्नो जोगाउनको लागि भोक,आफ्नालाई पाल्नको लागि भोक र अस्तित्व जोगाउको लागि भोक यस्ता भोकले फेरी उहिमा फकाईदिएको छ । पेट र भोक नभएको भए धेरै काम गर्नसक्थौं होला तर खानको लागि गरेको एक कामले धेरै अवसरबाट छुटाईदिएको छ । डाहा हुन्छ, औडाहा हुन्छ तर हुनेवाला केही छैन किनकि म भोकको शिकार भएको छु । आफ्नो स्थानमा त फर्कनै छ, पुरा गर्नको लागि भोकका सपनाहरु ।
आमै आज कति कमाउनुभयो ? ध्यान सबैको कमाईमा नै हुन्छ । सबैको चासोको विषयमा पनि यही हो किनभने यो काडमाण्डु हो । सधंै उही समय,उही बाटो उही स्थानबाट फर्कदा संधैजसो भेटिने एक आमैलाई सोधिहांले । ‘कति हुनु बाबू त्यही ८०० रुपैयाँ त हो । धेरै दिन भयो सब्जी महंगीएको छ । फुटपाथमा पनि यती महंगो भन्दै सबै होलसेलरमा नै जान्छन् व्यापार चौपट छ ।’ ए, अनि म ? आफैंलाइ सोधे झण्डै विर्सनै लागेको रहेछु मैंले ५००, त्यही पनि एक महिनापछि पाउने गरी । आफैंलाई खिस्सि गरेको जस्तो लाग्यो । आफैंलाई गिज्याएको जस्तो लाग्यो । जागिरलाई खिस्सि गरे जस्तो, मेरो त व्यापार भएपनि नभएपनि मतलब छैन । व्यापार भए बढ्ला भन्न पर्दैन व्यापार नभएर घट्ला भन्न पर्दैन किनकि मैले एक समयको लागि मेरो शरिर कुनै कार्यलयलाइ बेचिदिएको छु त्यसको एकनासको मुल्य मैले प्रत्येक महिना पाउँदै आएको छु । त्यो मुल्यले मैले धेरै कुरा पु¥याउनु छ । एक वर्षमा एक हजार तलब बढ्दा घरबेटीले भाडा नै ६०० बढाईसकेका हुन्छन् त्यो पनि त्यही मुल्यबाट तिर्नुपर्छ,सब्जिको औषत २ सय बढी तिनुपर्ने हुन्छ । चामल र ग्यास सबै जोड्ने हो भने विद्यमान मुल्यबाट फेरी केही सय घट्न सक्छ त्यही मुल्यबाट । त्यही मुल्यले मेरो भविष्यको भोक पुरा गर्ने बचत ?! हात उठाउनुको विकल्प छैन । विकल्प भएको छ जो दिनमा करिब हजारले रोज्नुभएको छ त्यही विकल्प हात उठाएर अन्तराष्ट्रिय विमानस्थल भित्र छिर्नु । यही कारण छिरे धेरै दाजुभाइ,विमान बसे,छिनभरमा आफ्नो भन्ने माटोबाटै उडिदिए तर मं अहं सकिन । उडेका कतिले भविष्य खोज्दै हुनुहुन्छ कत्तिले भेट्टाउनु पनि भयो होला कतिले झनै गुमाईरहनु भएको छ जस्तो मैंले नउडेर गुमाएको छु ।
फुटमाथमा सब्जी बेच्ने आमैको कमाई नभएको बेलामा ४० प्रतिशत बढी, अनि म, म संधै कमाइ भएको मान्छे भन्छु ? यसैगरी उहीको पछि लागिरहन्छु । किनकि मलाई उहीको अगाडि सर्म गम्भीर भएर आएको छ । धेरै साथीहरु यही सरमलाई अरुको देशमा गएर पाप पखालेजसरी पखालिरहनुभएको होला । तर म अहं सकिन । एउटा मजदुर साथीलाई भेटेको थिए । तिम्रो क्षेत्रमा दिनमा कति कमाई हुन्छ साथी ? भवन निर्माणको काम गथ्र्यौं उसलाई पनि उही प्रश्न सोधें । उसले पनि उसै गरी जवाफ दियो राम्रो काम गर्न सके दिनको १२०० । फेरी आफैंलाइ सोधे अनि मेरो ? जवाफ उही ५०० राम्रो गरे पनि नगरे पनि । फेरी फर्केर हेरें आफैंले आफैलाइ सोधें उही पैसामा भविष्य खोज्ने म !
 पत्रिकामा थुप्रा विज्ञापन देख्छु,लेबरदेखि सर्बरसम्म सबै अरुको देशको लागि चाहियो भन्दै छाएका विज्ञापन छन् । विज्ञापनमा मेरो देशमा चाहिएको खै त ? नचाहिए रै नआएको हो त ? मनले नै उत्तर दिन्छ तर होईन होला ? हामीमा दक्षिणबाट धेरै आएको देखिन्छ, नचाहिएको भए त उनीहरु नआउनु पर्ने हो नि ? फेरी फर्किन्छु उनीहरुको पनि उत्तर खोज्छु यहाँ पनि उहीको समस्या छ । उही महंगी उही चलखेल,उही अपराध,उही खिस्सि गर्ने समाज,उही अरुको भलो देख्न नसक्ने समाज,अनि उही डाहाले मर्ने समाज,उही एक कमाएर दुइ तिर्नुपर्ने राजनीति,गरेर भन्दा बोलेर र देखाएर खानुपर्ने मान्छेहरु, उही बलले खाने मान्छेहरु,उही हामी निरिह जनताहरु, अनि उही समाजदेखि भाग्ने हामी भगौडाहरु ।
सोच्दा नसोच्दै आफ्नो वासस्थान रहेको सानो कोठा आईपुग्छु । ढोका खोले भित्र पसे,केही छैन तर पनि अथाह छ । यही कोठरीमा अथाह चिजको लागि मैले पैसा तिरेको छु । पैसा भएर जे पनि आउँछ यहाँ त्यही भएर होला अहिले गितहरु पनि पैसा तिरे जे पनि दिन्छु भन्ने गाएका गायकहरुले । मैले कोठरीमा पैसा तिरेको छु त्यसैले यही कोथरीभित्र अथाह छ । गाडी पार्किङदेखि स्वीमिङ पुलसम्म सबै चिज यही चारभित्ताको बीचमा छ किनभने मैले सबैको लागि लाग्ने पैसा तिरेको छु,पानीको नाममा हावालाई पैसा तिरेको छु विजुलीको नाममा पैसा तिर्छु तर मेरो खातामा मैनबत्तिको पैसा थपिन्छ । फोहोरको लागि पैसा तिर्छु अनि बाहिर निस्नेर नाक थुनेर हिड्छु र पनि मैले भाडा तिरिरहेको छु । कसैलाई केहीको मतलब छैन यो बेमतलवीको शहर हो । पैसा भएमात्रै महरु यहाँ रहन्छौं,छैन भने दया माया र प्रणालीले केही हुँदैन यहाँ तर पनि मैले तिरेको छु । मैले धेरैको लागि तिरेको छु यहाँ, कर्मचारीलाई तलब खाउ भन्दै कर तिरेको छु,नेताहरुलाई मै माथि राजनीति गर भन्दै सब्जी किन्दा पनि  १३ प्रतिशत तिरेको छु,चामल किन्दा तिरेको छु,आफूसंग नभए पनि तिरेको छु,कर तिरेको छु । बत्तिको तिरेको छु पानीको तिरेको छु,अनि फोहोरको लागि छुट्टै तिरेको छु । सबै कुरा सहेको पनि छु सहनु नै बाध्यता भएको छ । म जस्ता धेरै महरुले यि कुरा सहेर बसेका छन् किनभने यो काठमाण्डू हो अरे  । यो नेपालको राजधानी पनि हो अरे,मलाई त लाग्दैन तर पनि अरुको कुरामा सहि थाप्दै हो भनेर हिडेको छु । यो काठमाण्डू नै हो,नयाँ डिल्ली,लण्डन न्यूओर्क जस्तै यो पनि देशको ठूलो शहर हो अरे । अरु भन्छन् र म पनि भनिदिन्छु यो काडमाण्डू नै हो ।
सरकार यही छ अरे तर मैले देखिन,प्रसाशन छ अरे त्यो पनि देखिँन । उनीहरु सबै यही छन् अरे जो मैले पैसा तिरेर मेरो सेवा गर भनेको छु त्यी कसैलाई देखिन मैले । अनि मन मनले सोचे यो काडमाण्डुमा त मैले केही देखिन । विचरा कर्णालीका महरुले के देखे होलान् ।
साँझ प¥यो डराई डराई ग्यास खोले । सकिन लागेको छ सकिए फेरी चाहिएको भन्दा १ हजार बढी पैसा तिर्नुपर्छ,कारण उही हो,जावाफ उही यो काठमाण्डू हो । सकिएला भनेर सानो पारे खाना बसाले । खाटमा पल्टिए । संसार सोचाइकै छ । थप महरुको बारेमा सोच्न थाले ।
(विचार व्यक्तिगत हुन् । कसैको मनमा ठेस लागेमा माफी चाहन्छु ।
patrakarshiva@gmail.com
       

1 comments:

good work shiva ji .....malai ramro lagyo ...tapaiko creation ramro cha ....

Post a Comment